ऋतु विचार/03
गर्दागर्दै खुशीसाथ शरत्सौन्दर्यवर्णन।
हेमन्तले खिचीहाल्यो कविको लेखनीकन।।1।।
भारी बोकेर जाडाको टाढाको बटुवासरी।
हिमदन्तुर हेमन्त आयो मैलोपना धरी।।2।।
मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर।
देखेर डरले भागी शरद्बाला दिगन्तर।।3।।
हेमन्त डाकिनीतुल्य लोक ठाडै कठ्याउँछ।
झल्कने हिमदाह्राले जो जो पायो अँठ्याउँछ।।4।।
घसी भस्म तुषाराको कुइराको लटा धरी।
धुम्मियेको छ हेमन्त अवधूतैबराबरी।।5।।
अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ।
जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ।।6।।
परालको नलै मैला उसको छ बगम्बर।
माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर।।7।।
गेरुरङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख।
फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख।।8।।
नयनाऽऽनन्दका साथै रसनाऽऽनन्ददायक।
फल अर्को कुनै छैन सुन्तलातुल्य लायक।।9।।
सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू धुवाँसरी।
विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी।।10।।
कुइरो बढदै आयो शान्तिशोभा सबै हरी।
जीवका मनमा मानू भोगको तिर्सनासरी।।11।।
बिहानीपखको राती शीतको कुइरासित।
अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमैसित।।12।।
छुट्ट्याई औलको सीमा काँठो लागी वरीपरी।
पहिले कुइरो बस्छ तन्केको पगरीसरी।।13।।
त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ।
तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ।।14।।
त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा।
फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा।।15।।
लम्तन्न भै निदायेको बडो आनन्दमा परी।
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी।।16।।
बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी।
व्युत्थानकलनाद्वारा संयमीको मनैसरी।।17।।
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ।
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ।।18।।
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर।
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर।।19।।
शीतरेखा जमेको छ उसमा भित्र बेसरी।
सङ्कल्पशक्तिका साथ संसारमहिमासरी।।20।।
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र।।21।।
विचित्र जादूगरका जादूको शक्तिले सरी।
एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी।।22।।
कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर।
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर।।23।।
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको।।24।।
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव।
हुस्सूरूप महामैला थैलामा बन्द भो सब।।25।।
हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ।
उसमा कर्मबाधाको सबैमा एक भान छ।।26।।
दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो।
मानू समसमाऽऽकार लयलीला खडा भयो।।27।।
सबेरै देवकन्याले बढारी स्वर्गमन्दिर।
फालेछन् कि यता मैलो हुस्सूरूप कसिङ्गर?।।28।।
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो।
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो?।।29।।
मैलो विषयतृष्णामा मुक्तिको महिमासरी।
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी।।30।।
निद्राले चेतनाजस्तै हुस्सूले दृष्टिको गति।
साह्रै गुटूमुटू पार्यो देखिँदैन यताउति।।31।।
कुइरामा कठै काग घुम्छन् अन्योलमा परी।
मायाले मुक्तिको मार्ग बिर्सेका विषयीसरी।।32।।
आधा हिलामा लत्रेको पद्मका फूलको सरी।
कुइरामा दब्यो आधा दिनको कान्तिमाधुरी।।33।।
हेमन्त सिन्धुमा घुम्दा कुइरोरूप मन्दर।
जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग जर्जर।।34।।
तेही मन्थनका छिर्का तुषाराको स्वरूपमा।
बर्र बर्र सबैतर्फ वर्षेका हुन् कि विश्वमा?।।35।।
कम्ती भयो भने मैत्री शीतको कुइरोसित।
तुषारो जोरले हाँस्छ खित्का छोडेर खित्खित।।36।।
बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि छ।
बिहान उठदा अर्कै सेताम्मे हिमवृष्टि छ।।37।।
साना परालका छाना तुषारो थुप्रिँदामहाँ।
सिङ्गमर्मरका जस्तै मजाका देखिने अहा।।38।।
छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो घरी।
कुनै कपास झैं सेतै फुलेकी बुढियासरी।।39।।
ठण्डीका डरले सेतो मण्डलीमा गुटूमुटू।
नीदले पृथिवी देवी बनीछन् की लुटूपुटू?।।40।।
खात हो वा तुषाराको यद्वा दुःखप्रपात हो?
फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो?।।41।।
तुषाराका तिखा सेता काँढा हान्दै पछिल्तिर।
रात्रिदुम्सी घुस्यो यद्वा पश्चिमाऽद्रिगुफातिर।।42।।
हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा।
पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा।।43।।
काठ्ठियेर सदा रुन्छन् सारा वृक्षलताहरू।
शीतका रूपमा आँशु चुहायेर धुरूधुरू।।44।।
लतावृक्ष तुषाराले सब पार्यो थिलोथिलो।
जिङ्रिङ्ङ वन देखिन्छ, शोभाशून्य उराठिलो।।45।।
पक्षी कठै पखेटाको तुषारो टक्टक्याउन।
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन।।46।।
न चराको कतै रङ्ग, न कतै पुष्पपल्लव।
तुषारामा डुब्यो सारा वनको महिमा सब।।47।।
हरायो शीतको मारे वृक्षको बढने गति।
अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति?।।48।।
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति।
आलस्यले अँठ्यायेका जातिजस्तै हतद्युति।।49।।
जराले जीवको दिव्य यौवनज्योति झैं सब।
दबायो शीतधाराले शरत्को पुष्पगौरव।।50।।
घुम्टो हालेर हुस्सूको शीतधारा चुहाउँदै।
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैं।।51।।
हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब।
हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्यगौरव।।52।।
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी
धर्मभीरु, दयापूर्ण निर्लोभी सज्जनैसरी।।53।।
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र चिल्दछ।
भाग्यले औषधीतुल्य पाहार तर मिल्दछ।।54।।
यद्गदाऽऽकार भै बस्छ दुनियाँ सब घाममा।
योगारूढ महात्मा झैं दिव्य कैवल्यधाममा।।55।।
जस्तो पाहारमा प्रेम दुनियाँको छ हालमा।
उत्तिको प्रेम के होला अन्त यो सृष्टिजालमा?।।56।।
पाहाररूप यो दिव्य शीतसंहारसाधन।
ठूला साना सबैलाई जीवनीको ठुलो धन।।57।।
लिँदालिंदैमा स्वर्गीय शान्ति पाहारमा बसी।
खडा हुन्छे कडा काली तत्कालै रात्रिराक्षसी।।58।।
निस्की कलमुखी रात्रि जहाँ शूर्पणखासरी।
जानकी पद्मिनीलाई वहाँ बाधा कठैबरी।।59।।
रामाऽऽत्मा रविले रात्रिराक्षसीको चुरीफुरी।
पाहारखड्गले हर्दा चल्यो अर्कै कडा हुरी।।60।।
फाँडिये कण्टकप्रायः बढेका खर दूषण।
पियारो भोजनस्थान रह्यो अधमरा वन।।61।।
रात्रिशूर्पणखा काली अँध्यारो मुख लाउँदै।
हिमरावणका साथ गर्छे मानू कुरा रुँदै।।62।।
फिँजारेकी छ उसले जगल्टा अन्धकारका।
शीतका रूपमा हर्दम् खसाल्छे आँशुका ढिका।।63।।
मेघनाद छँदैछैन पन्छाईरविभीषण।
रात्रिशूर्पणखाले त्यो जगायी हिमरावण।।64।।
पछारिँदामा त्यो रात्रिराक्षसी आयतोदरी।
धेरै नै थिचिये राम्रा उज्याला दिनका घरी।।65।।
देखिनेबित्तिकै झट्ट दबिन्छ दिन माधुरी।
दरिद्रको क्षणस्थायी मनको मन्सुबासरी।।66।।
उनै सूर्य, उनै पृथ्वी, उही छ किरणाऽऽवली।
कालको गतिले गर्दा राप किन्तु अलीअलि।।67।।
फर्काउँछ सिधा पीठ दुनियाँ सूर्यसम्मुख।
हेरला को कठै मन्द गिरेका मित्रको मुख?।।68।।
तेजस्विता भयेदेखि सूर्यमा क्यै अलीकति।
शीतले यसरी लोक काँपदो हो कहाँ यति?।।69।।
परेछ शीतसम्बन्धी सूर्यलाई पनी पिर।
नत्र तेसरि सोझिन्थे किन अग्निभयेतिर?।।70।।
राम झैं रवि जानाले कोल्टामा मन्द भैकन।
जानकी पद्मिनी हर्न खडा भो हिमरावण।।71।।
विहोश भैढलीहाली पद्मिनी विकलाऽऽकृति।
होशमा किन घुस्रन्थी अर्काका काखमा सती?।।72।।
दुष्टले पद्मिनी कान्ता हर्नाले विरहाऽऽतुर।
दोस्रो रामसरी सूर्य बने मालिन्यमन्दिर।।73।।
समातेरं धनूराशि रामरूपदिवाकर।
सीताऽऽपुर हुँदै ज्यादै जाँदैछन् की उँधोतिर?।।74।।
एतावता बढ्यो जाडो, थाल्यो त्यो हिम वर्षन।
बिलायो कमलश्रेणी, पुगे श्रीसूर्य दक्खिन।।75।।
दुःख दुर्भाग्यको धारो ठण्डीका उग्ररूपमा।
खनिँदो छ कठै राती लगातार गरीबमा।।76।।
दुःखीका दुःखको याद भयेदेखी अलीकति।
दैवले सब उल्टन्थ्यो तत्कालै सृष्टिपद्धति।।77।।
दुःखी गरीबका लेखा नखदेखी शिखातक।
चर्चरी चिरने पापी हेमन्तै घोर नारक।।78।।
रातमा घुसदा शीत दुःखीका भित्र आँतमा।
दाँतको झगडा हुन्छ को जाने कुन बातमा।।79।।
कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन।
हालका कविजी जस्तै लागे गरिब खुम्चिन।।80।।
कालो तरङ्गसङ्कीर्ण दह झैं पान्थको मन।
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन।।81।।
घडीतुल्य पला लाग्छन्, वर्षतुल्य घडी सब।
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव।।82।।
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी।
कठै घोर अविद्याका गह्रुङ्गा गठरीसरी।।83।।
जुन रातविषे हुन्छ दुःखीको प्राणसंशय।
सुखीलाई उनै रात सुधाका लहरीमय।।84।।
सुखीका सुखको साक्षी दुःखको दुःखवर्धन।
झुल्कन्छ रातमा झुल्का फुलाई खूप गर्धन।।85।।
दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी।
हेर्दछन् द्रौपदीचीरतुल्य हेमन्तयामिनी।।86।।
पोखरीमा बिलायेकी देखी कुमुदिनीकन।
लागे कुमुदिनीनाथ करुणावश पग्लन।।87।।
फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी।
जूवामा धन फालेका जुवाडेको मुखैसरी।।88।।
पद्मको रसका प्रेमी मदमत्त मधुव्रत।।
घुम्न थाले अँगेरीका फूलमा दुःखकर्शित।।89।।
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल।
कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल।।90।।
शीतले फूलका साना बगैंचाका बुटाहरू।
परलोक भये धेरै, रुन्छन् थोरै धुरूधुरू।।91।।
रसधारा चुसी सारा तुषाराले वनस्थली।
गरायो नीरसाऽऽकार छैन केही झिलीमिली।।92।।
पुष्पपल्लवको शोभा नभयेको वनै सब।
बन्यो स्वाऽऽधीनतारत्न फालेको दास झैं अब।।93।।
गलेकी हिमवर्षाले, बलेकी तपले अति।
गौरी झैं कलिला साना प्याहुली छन् कताकति।।94।।
देखिन्छ वनमा यौटा फुलेको लोध हालमा।
सिद्धिसम्पत्तिले पूर्ण योगी झैं विश्वजालमा।।95।।
लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण।
देशकालज्ञले लिन्थ्यो कूपमण्डूकता किन?।।96।।
खलामा धानको दाइँ गर्न थाले धमाधम।
दुःखीको पसिनापूर्णफल्यो सारा परिश्रम।।97।।
त्यो बेला ती दयेंराको आनन्दी रङ्ग देखदा।
चित्तले दङ्ग भै भन्छ यैं हेमन्त रहोस् सदा।।98।।
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा।
दयेंरा धान वैरन्छन् मस्त छन् सब धानमा।।99।।
म भन्थें हिममा राम्रा बुट्टा भै भर्दछु भनी।
भित्र देखें महाबुट्टा बन्द भो टक्क लेखनी।।100।।
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
अझ उस ऋतुमाथी यो छ काव्योपहास।
अवगुण सब छानी गर्नुहोस् दृष्टिपात
भनि सबसँग बिन्ती गर्छ यो लेखनाथ।।101।।