तरुण तपसी/05
वचनामृत त्यो पियें जति
दिलमा प्यास बढ्यो अहो उति।
अब त्यो कब पाउँला भनी
अडियें निश्चल दीप झैं बनी।।1।।
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्यो सानू रेखा स्मितकिरणको ओष्ठपुटमा।
खुल्यो जोडी लामा कमलदल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैं वदनको।।2।।
निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोकलहरी।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि।।3।।
बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि।।4।।
थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको।।5।।
तपस्याको अग्लो भवनबिच चढ्ने असजिला
कडा दैवी बाधामय अति नराम्रा खुडकिला।
सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि
भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि।।6।।
त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी
ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
जगत्को कल्याणव्रतविषयमा साहस बढ्यो।।7।।
सबै आऊन्, पाऊन् प्रणयसुखद्वारा हृदयको
कसैलाई मेरो नगिच नरहोस् नाम भयको।
म भन्थें झुम्मिन्थे पथिक सब, राती तर तिनी
नबस्नाले हुन्थें मन मन अली खिन्न म पनि।।8।।
म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
चुलोचम्को लाई खचित नगिचै लाखन शिला।
उता मीठो पानी, सब तरहले वास सजिलो
थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो।।9।।
त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो
दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो।
नजाने केले हो? अलि दिनपछी ग्राम्यजनको
ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको।।10।।
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
चिने चौकी चाक्लो उपर छपनीले सम गरी।
म त्यो चौकीमाथी झलमल बनें गोल गजुर
कठै गर्थ्यो तल्लो हर तर तलैबाट उजुर।।11।।
सहू सर्दी, गर्मी बहुत बलियो आसन कस,
रहू चौकीभित्रै, कठिन तपको भोग सकस।
भनी मानू मेरो स्थितिनियमको बन्धन गरी
विधाताले बार्यो अति कठिन बारै वरिपरि।।12।।
जमायें लाचारीसित जमिनमा आसन कडा
बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा।
जती जस्तो आओस् नियतिवश शीताऽऽतप हुरी
भयें त्यो हेलैले सब सहन शक्ने ननिहुरी।।13।।
बिपत्ता चौकीमा हलनचल पाऊ तल तल
निदाये, तन्काये तनतन निदैमा रसबल।
धरित्रीको भित्री अमृतगुण सर्वत्र फिंजियो
अवस्थाले मेरो अझ मधुरिमाको पथ लियो।।14।।
कुनै कालो चिल्लो घनसम जटामण्डल घना
पुग्यो माथी, भैगो सफल सब सङ्कल्पसपना।
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी।।15।।
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
म भन्थें यै सारा विहगकुल हो किन्नरगुरु।।16।।
म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी
पुजारी भै बस्थे चपल चिडिया लाखन थरी।
थियो तिन्को पूजाविधि ललित लीलारसमय
म दिन्थें पूजाको फल अतुल विश्रान्ति, अभय।।17।।
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै।
तिनैलाई ठान्थें परिजन तथा जीवन पनि
तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी।।18।।
पखेटाको हम्को, स्वरमधुरिमा कण्ठतटको
हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
म सम्झन्थें सारा मधुर परमाऽऽनन्दलहरी।।19।।
विधाताले मेरा उपर करुणाको वश परी
स्वयं वर्षायेका अमर नगरीका फुल सरी।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
उडीजाँदा देख्थें किन किन अँध्यारा दश दिशा।।20।।
कुनै वेला भेला भइ विहग सारा कचहरी
जमायेको देखी हतमति शिकारी अघि सरी।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
खस्यो चीं चीं गर्दै कठिनसित यौटा, अरु चले।।21।।
कठै चल्दो फिर्दो प्रकृतिपुतली त्यो निमिषमा
अकालैमा त्यस्तो गतिसँग परी कालवशमा।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो।।22।।
शिकारी संहारी अबुझ हतभागी मनुजको
थियो कस्तो कस्तो विकट अनुहारै दनुजको।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
छुनासाथै निस्क्यो कठिनसित ऽ:चीं चीं, चिरिरिरीऽ:।।23।।
व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा
थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा।
हुँदो हो ता, कालो धरणितल कैलाससदन
बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन।।24।।
चरीको त्यो ऽ:चीं चींऽ: मय रुदन वा क्रन्दन कडा
थियो जान्नेलाई अमरकृत विद्यालय खडा।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा।।25।।
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा।
चरीको ऽ:चीं चींऽ: मा उस बखत मैले जुन कुरा
सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा।।26।।
हुन त बहुत सानू किन्तु गम्भीर भारी
विहगवधकहानी कष्टले त्यो उतारी।
अलि छिन तपसीले अश्रुधारा बगाये
नयनयुगल फेरी शून्यमा नै लगाये।।27।।