Jump to content

तरुण तपसी/07

From Wikisource
301491तरुण तपसी1953लेखनाथ पौड्याल

मुनिका उस सूक्तिसिन्धुको
रस प्यूँदा हरएक बिन्दुको।
मनले गहिरो मनुष्यता
पहिचान्यो, तर त्यो कता कता।।1।।

हुँदोहोला तोलाभर फगत फुर्के जुन चरी
उही मारी, पापी कठिन करको लर्कन गरी।
चल्यो व्याधा, साथै पवन पनि तातो हररर,
बह्यो मानू सारा प्रकृतिपथमा भित्र जहर।।2।।

म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा
परी भागीहाले विगह बिचरा दूर वनमा।
बिझयो काँढो जस्तै कठिन घटना त्यो नयनमा
घृणा ज्यादा लाग्यो मनुजमतिको त्यो पतनमा।।3।।

चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखें सकल पृथिवी त्यो बखतमा।
दिशा देखें मैला, वरपरि सबै शैल धमिला
नदी देखें काली शिव शिव उनै पुण्यसलिला।।4।।

यती चाँडै मेरो किन कसरि आँखा धमिलियो?
तमासा यो क्या हो? भुवन किन मैलो सब भयो?
भनी हेर्दा हेर्दै वर पर कठै विश्वभरमा
उही देखें कालो कुरुचि भरियेको इथरमा।।5।।

अहो यस्तो कालो विकट परहिंसाकुरुचिले
बिगारेको वातावरण कुन दैवी सुरुचिले?
सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा
म एक्लै झोक्रायें नयन युग चिम्ली विजनमा।।6।।

उडेंछू त्यै वेला चपलगति सङ्कल्परथमा
चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा।
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
गयो गल्दै गल्दै, स्थिति अगम झल्क्यो भुवनको।।7।।

मजा मानी नीलो नभजलधिमा निर्भय बुडी
घुमी पौडी खेलें, प्रणयसित यद्वा लडिबुडी
सुनें त्यै वेलामा अगम रसिला लाखन कुरा
खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा।।8।।

न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा
थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा।
अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव
म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सब।।9।।

जबर्जस्ती मेरो अति जरकटे कान पकडी
तपस्याका खोले सकल गुरुले दुर्गम कडी।
भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम
पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म।।10।।

कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्
कुनै चाहे चङ्गा भइ गगनगङ्गाबिच बहून्।
अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सहू
सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रहू।।11।।

डुब्यो त्यस्तो चालासित किन चराको रगतमा?
भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा।
त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा
तुरुन्तै देख्नेछौ अनि पछि उज्याला दश दिशा।।12।।

लियेथें त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला
उदायो निःस्वार्थप्रणयविधुको शीतल कला।
घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय
भयो साह्रै हल्का सुखमय अनासक्त हृदय।।13।।

जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी
रसीला उर्लन्थे हृदयदहमा दृश्यलहरी।
घडी देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल
घडी अग्ला अग्ला हिमशिखर सेता झलमल।।14।।

घडी बग्थिन् गङ्गा परम शुचिता सेचन गरी
घडी आईपुग्थे हरकिसिमका देवनगरी।
घडी नीलो ताराजडित गगनै झवास्स छिनमा
स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा।।15।।

घडी देखा पर्थ्यो चमचम गरी दीर्घ बिजुली
घडी आत्मज्ञानी पुरुष अथवा सिद्ध सकली।
घडी पानी पानी सबतिर छताछुल्ल धरणी
घडी आगो बल्थ्यो धपधप, घडी वासरमणि।।16।।

न मिल्थ्यो त्यो शिक्षा सितिमिति कुनै शास्त्रहरुमा
न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा।
लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा
रसीलो निस्कन्थ्यो पल पल चमत्कारसुषमा।।17।।

अहो यस्तै यस्ता अघट घटनारूप चटक
मजा मानी भित्रै अनुभव गरी धेर पटक।
पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली
झुली लिन्थ्यो निद्रामय अतुल शय्या मखमली।।18।।

उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी
ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी।
म झोक्रिन्थें, भन्थें किन सब टुट्यो कौतुक, भनी
कडा रातो देख्थें गगनगुरुजीको मुख पनि।।19।।

बित्यो रात्री सारा, तम पर सर्यो, सर्र रविको
प्रभा झुल्क्यो, टल्क्यो टलक कलनातुल्य कविको।
बनी अर्कै निस्किन् प्रकृतिजननी, विश्वरभरमा
रमायिन् चौतर्फी विकसितमुखी जागृतिरमा।।20।।

निशामा त्यो प्यारो पठनविधि गर्दै दिवसमा
उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा।
जगायें निःस्वार्थप्रणयसुखको जोति भरिलो
निकै नै कम्ती भो, विहगवधबाधा जहरिलो।।21।।

गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा।
जटाशाली अग्लो शिर पवनको रङ्गरसमा
रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्तिसुषमा।।22।।

कसैले त्यै वेला पनि हृदय पारीकन कडा
दिये भारी धक्का मकन अथवा उग्र रगडा।
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
कठै मेरा लेखा तर अबुझ ती बालक थिये।।23।।

जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
म सम्झन्थें, हुन्थें प्रणयरसले गद्गद अति।
बित्यो एवरीत्या समय, वयले उन्नति लियो
रसीलो छायामा प्रणयविधुको कान्ति फिंजियो।।24।।

सँभाली वा खारी चपल मनका वृत्ति यसरी
म रस्तामा बस्ता प्रणयशिवको पूजन गरी।
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा।।25।।

यति भनी तपसीले मन्द निःश्वाससाथ
मुखकमल झुकाये, बन्द भो सूक्तिपात।
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
मनन मन लगाई गर्न थालें पवित्र।।26।।