Jump to content

तरुण तपसी/17

From Wikisource
301517तरुण तपसी1953लेखनाथ पौड्याल

परिपूर्ण पवित्र सुन्दर
मुनिको शान्तिसुधासरोवर।
अलिबेर पछी छचल्कियो
श्रुतिमा शीतलता भरीदियो।।1।।

डुबी एकाम्मे भै अगम परमाऽऽनन्द चितिमा
म उत्रें बिस्तारै अविदित कुनै दीर्घ मितिमा।
खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी
हिलायो तत्कालै मृदु पवनले पल्लव सरी।।2।।

उदेकायें केही, मगज तह लायें, पवनको
थमौतीमा ल्यायें गति, कल चलायें वचनको।
घुमायें चौतर्फी नयन, मुसुकायें, अलिकति
सबै देख्दै आयें क्षणिक दुनियाँको परिणति।।3।।

म फेरी टोह्लायें, स्मृतिपथ सबै उज्ज्वल भयो
अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो।
उताको त्यो भास्यो घन चितिचमत्कार बिपना
यताको यो सारा तप र तपसीजन्म सपना।।4।।

बिलायो निद्रा वा जटिल ममताको घनघटा
मुटूले भेट्टायो बहुत रसिलो जागृतिछटा।
जता लायो आँखा झलमल उतै रामरमिता
अनौठाको भास्यो प्रथम कविको विश्वकविता।।5।।

तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
सबै मर्मस्पर्शी उस कविकलाको अनुभव।।6।।

मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना?।।7।।

नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कारसुषमा।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै कस्ले जान्ने प्रथम कविको काव्यपटुता?।।8।।

झरीलो यो लामो तप तप चुहेको मह सरी
चमत्कारी, भारी मधुर, भरिएको रसझरी।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
नजान्नेका लागी तर अति विषालू मधुरिमा।।9।।

हजारौं के लाखौं रसिक रसिलो जीवनभरी
सबै टण्टा छोडी विविध कविसम्मेलन गरी।
मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको
बिलायेको देखें नबुझिकन क्यै मर्म उसको।।10।।

झुकें केही तेही सकल कविता हेर्न म पनि
चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय
उडीहाल्यो कालो मधुकर सरी बन्धविषय।।11।।

उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि
रुवा झैं हल्का भो निमिषभरमा जीवन पनि।
बिलायो बिस्तारै विशद बिपनाभित्र सपना
जुटीहाले मानू प्रणयसित गङ्गा र यमुना।।12।।

तिनै ढोका भत्के उस नगरका जीव जसमा
करोडौं सङ्ख्यामा हरबखत रुन्छन् सकसमा।
म छू त्यै चौकीमा, तदपि उस भन्दा पर भयें
थला मारी मारी नउठिकन अर्कै घर गयें।।13।।

त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो
सदा पीछा गर्दो विकट भयको भूत छलियो।
म सुस्तायें सुस्तै तनविषयको मान, ममता
गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता।।14।।

मर्यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सर्यो
निराशाले आशाउपर अति खासा घर गर्यो।
तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडी
गये डुब्दै डुब्दै कठिन सपनाका सब घडी।।15।।

बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो
दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो।
चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो
बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो।।16।।

हवामा हल्लेको शिमलफुल झैं कर्मगतिमा
रह्यो यद्वा लड्क्यो तन, नयन भो मुग्ध चितिमा।
शुक्यो देख्दादेख्दै अगम गहिरो मोहजलधि
सबै बिर्सीहालें विषयतिरको रोदनविधि।।17।।

म यस्तो, त्यो त्यस्तो, किन? कसरि? भन्ने सब गयो
छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो।
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी।।18।।

यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी।
हराये, बाँकी भो हृदयबिच खाली परहित
फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित।।19।।

नसा, मासू, हड्डी, रगतहरुको देहगठरी
सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी।
कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया
ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया।।20।।

झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली।
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा।।21।।

म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्गनरक।
त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी
म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि।।22।।

यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा
म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा।
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
पितालाई मात्रै अनुभव छ यो हास्यसुखको।।23।।

यसरि अगम भित्री भाव वा सच्चरित्र
भनि मुनि अलमस्ती मस्त भै भित्र भित्र।
फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्द
कमलबिच निदायो मुग्ध मानू मिलिन्द।।24।।